News जावलाखेल सेमिफाइनल पुग्ने तेस्रो टोली
उमेश पुन

पोखरा । जावलाखेल युथ क्लब यहाँ जारी २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ जावलाखेलले ६ पल्टको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि पोखरा रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ जावलाखेलका लागि हिसुब थपलियाले गोल गरे भने मनाङका लागि राजेश परियारले गोल गरेका थिए । निर्धारित समयपछि थपिएको अतिरिक्त समयमा पनि निर्णय निस्कन नसक्दा खेल टाईब्रेकरतर्फ धकेलिएको थियो ।

टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा जावलाखेलले मनाङमाथि ७–६ को जित निकाल्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्यो । खेलमा जावलाखेलका गोलरक्षक उनेष चौधरी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ १६ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेड क्लब बीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments