News वीरगन्ज युनाईटेड तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

जीतपुर सिमरा । भरतपुर फूटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब बारामा जारी तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी मैदानमा सोमबार भएको खेलमा वीरगन्जले भरतपुरलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको हो ।

निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो । टाईब्रेकरमा वीरगन्जका श्याम चौधरी, विपिन मगर, सञ्जय चौधरी, विशाल खड्का र सागर चौधरीले गोल गरे । चितवनका लागि सन्दीप सेन्चुरी, विकेश मगर, सुरज क्षेत्री र गणेश हिमालले गोल गर्दा रोशन क्षेत्रीको प्रहारले जाली चुम्न सकेन ।

यसअघि खेलको २०औं मिनेटमा रोशन क्षेत्रीको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा भरतपुर पराजित हुँदै घर फर्कन बाध्य भयो । भरतपुरको अग्रतालाई खेलको ३४औं मिनेटमा वीरगन्जका अमर डंगोलले बराबरी गरेका थिए ।

खेल बराबरीमा पुगेलगत्तै भरतपुरका गणेश हमालले ३८औं मिनेटमा गोल गर्दै पुनः टिमलाई अग्रता दिलाए । तर ४३औं मिनेटमा वीरगन्जले बराबरी गोल फर्कायो । वीरगन्जका लागि उदित चौधरीले गोल गर्दै खेल २–२ को स्थितीमा ल्याएका थिए ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा खेल टाईब्रेकरमा धकेलियो । खेलको म्यान अफ दि म्याच भरतपुरका रोशन क्षेत्री घोषित भए । भरतपुरलाई पन्छाएको वीरगन्जले अब फाइनल प्रवेशका लागि आयोजक मौवादेवी युवा क्लबसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा हरिवनलाई पराजित गर्दै आयोजकले अन्तिम चारको यात्रा तय गरेको थियो ।

 
Post Comments