News स्थानीय तह शहिद स्मृति छैठौं मकवानपुर गोल्डकप शुरु, बागमतीको विजयी शुरुवात
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मंगलबारदेखि शुरु भएको स्थानीय तह शहिद स्मृति छैठौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा राईट लेन बागमती युवा क्लब, सर्लाहीले विजयी शुरुवात गरेको छ ।

हेटौडा–६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा बागमतीले पारो फुटबल क्लब, भुटानलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । बागमतीको जितमा राज भुषालले दुई गोल गरे भने थप एक गोल सिजन गौतमले गरे । पराजित पारोका लागि सिराज दर्जीले गोल फर्काएका थिए ।

खेलमा बागमतीका लागि दुई गोल गरेका राज भुषाल म्यान अफ द म्याच घोषित भए । यो जितसँगै बागमती क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ १७ गते बुधबारको खेल न्युरोडटिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी हेटौडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा लगायतले संयुक्त रुपमा गरेका थिए ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

Post Comments