News एपिएफसँग मच्छिन्द्र निराश
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब यहाँ जारी छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ एपिएफले मच्छिन्द्र फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । गौरीटार रंगशालामा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

टाईब्रेकरमा भने एपिएफले मच्छिन्द्रमाथि ४–३ को जित निकाल्न सफल भयो । टाईब्रेकरमा विपक्षीको दुई प्रहार जोगाएका एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १९ गते शुक्रबारको खेल राजारानी क्लब, धनकुटा र नेपाल पुलिस क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

Post Comments