News लर्ड बुद्धलाई पाँचौं सुदेश सुब्बा मेमोरियल हिमशिखर कपको उपाधि
गोलनेपाल

तरहरा । यहाँ सम्पन्न पाँचौं सुदेश सुब्बा मेमोरियल हिमशिखर कप यु–१२ छात्र फुटबल प्रतियोगिताको उपाधि लर्ड बुद्ध इन्टरनेशनल स्कुलले जितेको छ । फाइनल भिडन्तमा लर्ड बुद्धले डिपोट स्कुललाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

इटहरी–२० स्थित तामाङ टोल खेलमैदानमा भएको खेलमा लर्ड बुद्धका लागि रोहन चौधरीले एक मात्र निर्णायक गोल गरे । विजेता बनेको लर्ड बुद्धले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता डिपोटले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ द म्याच लर्ड बुद्धका निर्णायक गोलकर्ता रोहन चौधरी घोषित भए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक लर्ड बुद्ध कै अभय चौधरी चुनिए भने उत्कृष्ट डिफेन्डर हिमशिखर स्कुलका एलन जिमी बने ।

उत्कृष्ट मिडफिल्डर डिपोट स्कुलका स्पन्दन राई चुनिदा उत्कृष्ट प्रशिक्षक लर्ड बुद्धका बिमल मगर घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार डिपोटका विवेश राई र विश्व आदर्श स्कुलका सक्षम तामाङले संयुक्त रुपमा हात पारे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने हिमशिखरका सुमन राई बने । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्याब्सन केन्द्रिय कार्यसमितिका प्राज्ञीक सल्लाहकार शंकर थापा लगायतले पुरस्कृत गरेका थिए ।

हिम शिखर इङलिस स्कुल, तरहरा इटहरी, सुनसरीको आयोजनामा माघ १४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments