News गोधुली रनिङ कपः वार्ड नम्बर ६ क्वाटरफाइनलमा
गोलनेपाल

धरान । उत्कृष्ट जितका साथ वार्ड नम्बर ६ यहाँ जारी टेस्टी टेस्टी २५औं गोधुली रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर ६ ले वार्ड नम्बर १० माथि ४–० को प्रभावशाली जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो ।

धरान रंगशालामा भएको खेलमा वार्ड नम्बर ६ का लागि सन्देश राईले दुई गोल गरे भने सुवास राना मगर र यमन मगरले समान एक–एक गोल गरे । खेलमा वार्ड नम्बर ६ का सन्देश राई म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत्र १४ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल साविक विजेता वार्ड नम्बर १३ र वार्ड नम्बर १५ बीच हुने आयोजकले जानकारी दियो ।

गोधुली क्लब, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

Post Comments