News आर्मीलाई पोखरा गोल्डकपको उपाधि
उमेश पुन

पोखरा । उत्कृष्ट जितका साथ शनिबार सम्पन्न २३औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । फाइनलमा त्रिस्टार फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो ।

पोखरा रंगशालामा भएको खेलको ३८औं मिनटमा जिलेस्पी जंग कार्कीको गोलबाट आर्मीले खेलमा अग्रता बनाएको थियो । ८३औं मिनटमा फत्तेमान घलेले आर्मीका लागि दोस्रो गोल गर्दा इन्जुरी समयमा बसन्त जिम्बाले तेस्रो गोल गर्दै विभागीय टोलीको प्रभावशाली जित पक्का गरे ।

यो जितसँगै आर्मीले वि.सं. २०७५ सालको फाइनलमा थ्रीस्टार क्लबसँग बेहोरेको हारको बदला लिन समेत सफल भएको छ । विजेता बनेको आर्मीले उपाधिसहित नगद १२ लाख हात पार्यो भने उपविजेता थ्रीस्टारले ६ लाखमा चित्त बुझायो ।

सहारा क्लब, पोखराको आयोजनामा गत माघ ९ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट बचत भएको रकम क्लबद्वारा सञ्चालित फुटबल एकेडेमी मै खर्च गरिने आयोजकले जनाएको छ ।

Post Comments