News झरना स्पोर्टस सेमिफाइनलमा
सुरज राना मगर

देवीनगर । संघर्षपुर्ण जितका साथ झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ झरनाले आयोजक सन्जिवनी युवा क्लब, देवीनगरलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

तिलोत्तमा–१४ स्थित सन्जिवनी खेलमैदानमा भएको खेलमा झरनाका लागि अशोक सुनारले गोल गरेका थिए भने सन्जिवनीका लागि कप्तान अुनप बुढाले बराबरी गोल फर्काएका थिए । निर्धारित समय र टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा झरनाले ६–५ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलमा झरनाका गोलरक्षक कुशल सुनार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २३ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र देवदह ब्वाईज, देवदह बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

स्व. डिम बहादुर गुरुङको स्मृतिमा छोरी श्रीमाया गुरुङ, श्रीमती जसमाया गुरुङ र छोराहरु डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र चित्र बहादुर गुरुङ सहित समस्त गुरुङ परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र थापाले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

Post Comments
Advertisement Yamaha Nepal