
काठमाडौं । यसै बर्ष बहराईनमा आयोजना हुन गईरहेको एएफसी यु–१६ च्याम्पियनसिपको फाइनल ड्र सार्वजनिक भएको छ । प्रतियोगितामा दक्षिण एसियाबाट भारतले मात्र सहभागिता जनाउँदैछ ।
आउँदो नोभेम्बर २५ देखि १२ डिसेम्बरसम्म हुन गईरहेको प्रतियोगितामा भारत कठिन समूहमा परेको छ । फाइनल ड्र अन्तरगत समूह सी मा परेको भारतले दुई पूर्व विजेता दक्षिण कोरिया र उज्वेकिस्तानसँग खेल्नेछ । त्यस्तै तीनपटकको सेमिफाइनलिस्ट तथा दावेदार मध्ये एक अष्ट्रेलिया पनि भारत कै समूहमा परेको छ ।
त्यस्तै समूह ए मा आयोजक बहराईन सहित इरान, उत्तर कोरिया र कतार रहेका छन् । त्यसैगरी समूह बी मा ताजिकिस्तान, यमन, ओमान र युनाइटेड अरब इमिरेट्स रहेका छन् ।
समूह डी मा डिफेन्डिङ च्याम्पियन जापान सहित पूर्व विजेता साउदी अरब, चीन र इण्डोनेसिया रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
किन छनौट भएन नेपाल ?
प्रतियोगिताको पछिल्ला केही संस्करणहरुमा सहभागिता जनाउँदै आएको नेपालले यसपटक फाइनल चरणमा स्थान बनाउन सकेन । स्मरणीय छ, गत बर्षको सेप्टेम्बरमा जोर्डनमा भएको छनौट प्रतियोगितातर्फ नेपाल समूह ए मा परेको थियो ।
जसअन्तरगत नेपालले खेलेको चार खेलहरुमध्ये १ मा जित, १ मा बराबरी र दुई खेलमा हार बेहोर्दै समूहको चौथो स्थानमा रहेर छनौट चरणबाटै बाहिरिएको थियो । नेपालको समूहबाट ताजिकिस्तानले मात्र अन्तिम चरणमा स्थान बनाउन सफल भएको थियो ।
यस्तो छ फाइनल ड्र