News प्रथम ओएसिस महिला गोल्डकप शुरु, मानेभञ्ज्याङ र दिपेन्द्र शिखरको विजयी शुरुवात
गोलनेपाल

इलाम । ओएसिस क्लब, इलामको आयोजनामा बिहीबारदेखि शुरु भएको प्रथम ओएसिस महिला गोल्डकप नकआउट फुटबल प्रतियोगितामा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब, भारत र दिपेन्द्र शिखर फुटबल क्लब, इलामले विजयी शुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ठूलो टुंडिखेल मैदानमा भएको उद्घाटन खेलमा मानेभञ्ज्याङले आयोजक ओएसिस क्लब, इलामलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा मानेभञ्ज्याङकी सोनिया मार्क प्लेयर अफ द म्याच घोषित भईन् । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारिन् ।

दोस्रो क्वाटरफाइनलतर्फ दिपेन्द्र शिखरले पि.वाइ.सी., पाँचथरलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा दिपेन्द्र शिखरकी लिला जोशी प्लेयर अफ द म्याच घोषित भईन् । उनले पनि पुरस्कार वापत नगद २ हजार र मेडल हात पारिन् ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले गरेका थिए । यही फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments