News कुँवरवर्ती र राधाकृष्ण फाइनलमा भिड्ने
सुरज राना मगर

देवदह । यहाँ जारी तेस्रो वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा कुँवरवर्ती फुटबल क्लब र राधाकृष्ण फुटबल क्लब भिड्ने भएका छन् ।

देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा कुँवरवर्तीले रोहिणी फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा कुँवरवर्तीका गोलरक्षक अंकित क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा राधाकृष्णले खस्यौली फुटबल क्लबलाई १–० ले हरायो । राधाकृष्णका लागि किरन थापाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता थापा नै खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

कुँवरवर्ती र राधाकृष्ण बीचको फाइनल भिडन्त यही फागुन ११ गते शुक्रबारका दिन हुने आयोजकले जानकारी दियो ।

शान्ति टोल युवा परिवार, देवदह–१०, चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए ।

Post Comments