News तिलोत्तमा–११ क्वाटरफाइनलमा प्रवेश
सुरज राना मगर

करौजिया । तिलोत्तमा–११, तिलोत्तमा यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ तिलोत्तमाले लिस्नु युवा क्लब, कोटिहवालाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्न सफल भएको हो ।

त्यसअघि तिलोत्तमा–१३, करौजिया स्थित न्यु सृजना खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ तिलोत्तमाका लागि अमित क्षेत्रीले गोल गरेका थिए भने लिस्नुका लागि एरोन थापाले गोल गरेका थिए । टाईब्रेकरमा भने तिलोत्तमाले लिस्नुलाई ५–३ ले निराश बनायो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका तिलोत्तमा–११ का गोलरक्षक बिशाल मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १२ गते शनिबारको खेल ओमसतिया एफसी र नव टिकुलीगढ युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या. नरजंज गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

Post Comments