News ब्राजील छैठौंपटक विश्व च्याम्पियन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । युएईमा सम्पन्न फिफा बिच सकर विश्वकपको उपाधि दक्षिण अमेरिकी महारथी ब्राजीलले किर्तिमानी छैठौंपटक जित्न सफल भएको छ । फाइनलमा ब्राजीलले इटालीलाई ६–४ ले हराउँदै उपाधि छैठौंपटक जित्न सफल भएको हो ।

त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा एसियाली राष्ट्र इरानले बेलारुसलाई ६–१ ले हरायो । स्मरण रहोस, सेमिफाइनलमा इरानले ब्राजीलसँग पराजय बेहोरेको थियो भने बेलारुसले इटालीको हातबाट हारको सामना गर्नुपरेको थियो ।

व्यक्तिगत विधातर्फ इटालीका जोसेप जुनियरले उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल हात पारे । प्रतियोगिता भरि १२ गोल गरेका बेलारुसका इहार बिस्टेलले गोल्डेन स्कोरर अवार्ड हात पारे । ब्राजीलका टियागो बोबोले उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोव हात पार्दा पोर्चुगल फेयर प्ले टिम चुनियो ।

गत फेब्रुअरी १५ तारीखदेखि शुरु भएको प्रतियोगितामा फिफामा आवद्ध भएका ६ महासंघका कुल १६ देशहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको आगामी संस्करण अर्को वर्ष सिचेल्समा हुनेछ ।

Post Comments