News गेटवे एकेडेमी सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । गेटवे एकेडेमी यहाँ जारी छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सानो गौचरण मैदानमा भएको खेलमा गेटवेले त्रिवेणीलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । गेटवेका राजन आचार्य र लक्ष्मण उप्रेतीले समान २–२ तथा सन्दिप सिवाकोटी, प्रतीक रायमाझी, शिशीर श्रेष्ठ र प्रदीप खत्रीले समान १–१ गोल गरे ।

पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा प्रस्फुटन र सम्भावीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । प्रस्फुटनले लोयल्टी एकेडेमीलाई १–० गोलले हरायो । कुशल गिरीले निर्णायक गोल गरे । सम्भावीले विट्स एकेडेमीले ३–१ गोलले पाखा लगायो । सम्भावीका जे.आर. ठकुरीले ह्याट्रिक गरे । विट्सका बादल श्रेष्ठले सान्त्वना गोल फर्काए । सोमबार ३ खेलहरु हुँदैछन् ।

Post Comments