News जावलाखेल र मच्छिन्द्र सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लब यहाँ जारी केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

मंगलबार एन्फा कम्प्लेक्समा भएको तेस्रो क्वाटरफाइनलतर्फ जावलाखेलले आयोजक केपी फुटबल क्लबलाई २–१ ले हरायो । जावलाखेलको जितमा खेलको ३९औं मिनटमा निराजन धामीले पहिलो गोल गरे भने ८१औं मिनटमा निरज चौधरीले दोस्रो तथा निर्णायक गोृल गरेका थिए । उता दोस्रो गोल खाएको केही मिनट लगतै ८४औं मिनटमा अडामा डुम्बियाले केपी एफसीका लागि एक गोल फर्काए तापनि टोलीको हार टार्न भने अबेर भईसकेको थियो ।

त्यस्तै मंगलबार नै सम्पन्न भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रले नेपाल पुलिस क्लबमाथि शून्यका विरुद्ध ४ गोलको एकतर्फी जित निकाल्यो । मच्छिन्द्रले सबै गोल पहिलो हाफ मै गर्न सफल भएको थियो ।

मच्छिन्द्रका लागि खेलको पाँचौं मिनटमा क्रिष्टोफर छिजोबाले पहिलो गोल गरे । त्यसको एक मिनट लगतै स्टेफन बिनोङले त्यो अग्रता दोब्बर पारे भने ११औं मिनटमा छिजोबाले व्यक्तिगत दोस्रो तथा मच्छिन्द्रका लागि तेस्रो गोल गरे । त्यस्तै ३७औं मिनटमा पुलिसका कप्तान रामचन्द्र वजीले आत्मघाती गोल गर्दा मच्छिन्द्रले पहिलो हाफ मै जित सुनिश्चित गरेको थियो ।

मंगलबारको खेलहरुसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तर्गत फागुन १७ गते हुने दुई सेमिफाइनलतर्फ जावलाखेलले एनआरटीको सामना गर्नेछ भने सोही दिन मच्छिन्द्रले मानेभञ्ज्याङ एफसी, दार्जिलिङसँग खेल्नेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।

Post Comments