News चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको क्वाटरफाइनलमा
रमेश समदर्शी

ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ ।

नेपाल पुलिस क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो । पुलिस योपटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो । आइतबारको खेलमा दुवै टिमको मिडफिल्ड चल्न सकेन ।

निर्धारित ९० मिनेटमा पुलिसले तीन र चर्च ब्वाइजले एउटामात्र डेन्जर मुभ बनाउन सकेको थियो । तर, डिफेन्स लाइन र गोलकिपरको केही गल्तीका कारण पुलिस दबाबमा परेको थियो । खेलको ५३औँ मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

खेलको ७८औँ मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो । खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता चर्च ब्वाइजका प्रशिक्षक रुविन राईले नयाँ मैदानमा खेल्दा अपेक्षाकृत स्कोर हुन नसकेको बताए । उनले लिग विजेताको स्तरले प्रतियोगितामा नतिजा नआउनु खेलको स्तर खुम्चिएको स्वीकारेका छन् ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले स्कोररको कमीका कारण प्रतियोगितामा नतिजा नआएको बताए । उनले नयाँ खेलाडीलाई अवसर दिँदा अनुभवको कमीसमेत देखिएको बताए । खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए ।

सोमबार हुने पहिलो क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ । फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।

Post Comments