News प्रथम भरतपुर च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, खेल तालिका सार्वजनिक
गोलनेपाल

चितवन ११ फुटबल क्लबको आयोजनामा फागुन २५ देखि सुरु हुने सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।

आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी बारे जानकारी दिईएको हो । चैत १० गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी हुने भएका छन् । जसमा चितवनका ६ र बाहिरी जिल्लाका ६ टिम रहने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । भरतपुर चार पर्यटकीय स्थलका नाममा चार पोलको नामाकरण गरिएको छ ।

भरतपुर भ्रमण वर्षको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएकोले यहाँका पर्यटकीय स्थलका नाममा चार पोलको नामाकरण गरिएको कार्कीले बताए । जस अनुसार चौकीडाँडा पोलमा नेपाल पुलिस क्लब, इमेज बसन्तपुर युनाइटेड क्लब र २८ बिघा छन् ।

गोलाघाट पोलमा एभरेष्ट एफसी, रड्स रामपुर र आबुखैरहनी गाउँपालिका रहेका छन् । देवघाट पोलमा पेन्गुइन भरतपुर २४, हानामी भरतपुर फुटबल क्लब र घैरुङ एफसी छन् भने बिसहजार ताल पोलमा कैलाश युथ क्लब, नेपाली सेनाको द सबुज दल गण र गैंडाकोट एफसी छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र बसन्तपुर युनाइटेड क्लब भिड्नेछन् । प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । दर्शकका लागि पहिलो चरणमा ५० तथा क्वाटरफाइनलदेखि फाइनल सम्मका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने क्लबका अध्यक्ष कार्कीको विश्वास छ । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी), चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, रेफ्री संघका केन्द्रीय सदस्य विरेन्द्रबहादुर पाण्डेलगायत उपस्थित थिए ।

Post Comments