News समपुर्ण छैठौं न्यु सृजना कपको फाइनलमा
सुरज राना मगर

करौजियो । उत्कृष्ट जितका साथ समपुर्ण युवा क्लब, सुपौली जारी स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलतर्फ समपुर्णले तिलोत्तमा–११, तिलोत्तमालाई ५–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा भएको खेलमा समपुर्णका लागि निखिल पुन, कप्तान सबी गुरुङ, सृजन क्षेत्री र साजन गौतमले गोल गरे । थप एक गोल भने तिलोत्तमा–११ ले आत्मघाती गोल खान पुगेको थियो । पराजित तिलोत्तमका लागि भने कप्तान जमिर मियाँले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा समपुर्णका बिज्ञान गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २३ गते बुधबारको दोस्रो सेमिफाइनल खेल झरना स्पोर्टस क्लब, कुन्जलापुर र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या. नरजंग गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

Post Comments