News इटहरी गोल्डकप चैत १० गतेदेखि, विजेताले १० लाख पाउने
गोलनेपाल

इटहरी । इटहरीमा हरेक वर्ष हुँदै आएको प्रतिष्ठित १४औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी चैत १० गतेदेखि हुने भएको छ । गोल्डकपबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । राष्ट्रिय जागृति क्लब (राजा) को आयोजनामा इटहरी रंगशालामा हुने गोल्डकपमा आठवटा टिम सहभागी हुने जानकारी दिइयो ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार चैत १० गतेदेखि १७ गतेसम्म हुने गोल्डकपमा ए डिभिजनका चारवटा, भारतको एउटासहित आठ टिम सहभागी हुनेछन् ।

त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एपीएफ, एनआरटी क्लब, बिर्तामोड युनाइटेड झापा, कञ्चनजंघा फुटबल क्लब भारत, साबिक बिजेता सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब इटहरी सहभागी हुने डुम्जनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद दस लाखसहित ट्रफी हात पार्नेछन् भने उपविजेताले पाँच लाखमा चित्त बुझाउनेछ । प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्ड, उत्कृष्ट फरवार्ड, उत्कृष्ट बेस्ट प्रशिक्षक, उत्कृष्ट राइजिङ प्लेयरलाई नगद २० हजार प्रदान गरिने खेल संयोजक अनुरोध थापाले जानकारी दिए । यसैगरी उत्कृष्ट हाइ स्कोररलाई भने २५ हजार दिने उनले बताए । यस्तै, म्यान अफ दि सिरिज प्राप्त गर्ने खेलाडीले एक लाख प्राप्त गर्ने खेल संयोजक थापाले बताए ।

प्रतियोगिताका आर्थिक समिति संयोजक तथा कोसी प्रदेश फुटबल संघका सचिव केशव कार्कीका अनुसार यस वर्ष रात्रीकालीन फुटबल प्रतियोगिता हुनेछ । ‘यस वर्ष हामीले रात्रीकालीन प्रतियोगिता गर्नेछौँ, सोहीअनुसार तयारी भइरहेको छ,’ उनले भने, ‘रंगशालामा चारवटा लाइट जडान हुन्छ । दुईवटा छदैँछ, दुईवटा थप गर्नेगरी काम भइरहेको छ ।’

अहिले व्यवसाय नभएका कारण आर्थिक सहयोग गर्न सकस परेपनि फुटबल हेर्ने दर्शकको आश रहेको उनले बताए । ‘हामीलाई यस वर्ष मुख्य त दर्शकको आश छ,’ उनले भने, ‘रात्रीकालीन फुटबल प्रतियोगिता गर्नका लागि चुनौती चैँ छ । तर, सुरक्षा समिति बनाएर प्रहरीसँग समन्वय गरेका छौँ ।’

यस वर्ष ‘सेक्युरिटी’ पनि थप गरिने उनले बताए । टिकट दर क्वाटरफाइनलमा एक सय, सेमिफाइनलमा दुई सय र फाइनलमा तीन सय तोकिएको छ । हरेक दिन दुई हजार दर्शकले टिकट काटेर प्रतियोगिताको मनोरञ्जन लिन सकिने अपेक्षा गरिएको कार्कीले बताए । उनका अनुसार सुरक्षा चुनौतीको दृष्टिकोणका कारण यस वर्ष नगरपालिकासँग पनि सुरक्षाको माग गरिनेछ । 

प्रतियोगितामा कूल ७६ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रदेश खेलकुद विकास बोर्ड, इटहरी उपमहानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक कन्ट्रोल लुब्रिकेन्ट्स रहेको छ ।

Post Comments