News गोल वर्षासँगै झापा ११ सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । पाहुना टोली एन्फा मकवानपुरविरुद्ध गोल वर्षा गर्दै आयोजकको टिम झापा ११ एफसी झापा गोल्ड कप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली मकवानपुरलाई ५–१ गोलले हराउँदै झापा ११ ले अन्तिम चारमा स्थान बनाएको हो ।

झापाको जितमा आदित्य शाक्य, प्रदिप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एक-एक गोल गरेका हुन् । मकवानपुरका लागि ओस्कारले सान्त्वना गोल फर्काए ।

झापाले पहिलो हाफमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो । खेलमा अग्रता झापाले नै बनाएको थियो । खेलको २५औँ मिनेटमा आदित्यले पहिलो गोल गरेका हुन् । आशिष चापागाईंले निकालेको थ्रु बलमा आदित्यले चलाखीपूर्ण गोल गरे । मकवानपुरका गोलकिपर गोपी बर्तौलाले बचाउने प्रयास गरे पनि सफल भएनन् ।

६६औँ मिनेटमा विदेशी खेलाडी ह्यारिसनले आयोजकको लागि दोस्रो गोल गरे । दिपेश आले मगरले मध्यभागबाट मिलाएको एयर बललाई नियन्त्रण लिँदै ह्यारिसनले सुन्दर गोल गरेका हुन् ।

मकवानपुरका ओस्कारले ६९औँ मिनेटमा एक गोल फर्काए । समिराज थोकरले दायाँ भागबाट मिलाएको बललाई बक्समा रहेका ओस्कारले वान टचमै गोल गर्न सफल भएका हुन् । उनले अग्रता छोट्याउने प्रयास गरे पनि झापा खेलमा हाबी भएको थियो ।

खेलको ८३औँ मिनेटमा प्रदिप बुढाथोकीले तेस्रो गोल गरे । उनी मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्न सफल भए । ह्यारिसनको स्थानमा मैदान प्रवेश गरेको पहिलो टचमै उनले गोल गरेका हुन् ।

खेलको इन्ज्युरी समयमा झापाले दुई गोल गर्यो । बबिन बोहराले चौथो गोल गरेका हुन् । बक्सभित्र पाएको अवसरलाई उनले सहजै जाली चुमाए । अर्को गोल आशिषको नाममा रह्यो । आशिषले बक्सबाहिर पाएको बललाई अगाडि बढाउँदै सुन्दर गोल गरेका हुन् ।

यो खेलसँगै सेमिफाइनल समीरकण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफले शुक्रबार पहिलो सेमिफाइनल खेल खेल्नेछ भने । चर्च ब्वाइज र झापा ११ बीच अन्तिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो सेमिफाइनलमा एपिएफ र आर्मी शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा भिड्नेछन् । यसअघि पाँच संस्करण आयोजना हुँदा आर्मीले चारपटक उपाधि जितिसकेको छ । मनाङ मर्स्याङ्दी क्लब एकपटकको विजेता हो ।

आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका पहिलो गोलकर्ता आदित्य शाक्य भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । यस्तै, पहिलो गोल गरेरै थप नगद ११ हजार र एक थान एन्ड्रोइड मोबाइल पाउन सफल भए ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता टिम झापाका प्रशिक्षक अंगुुरकुमार खड्गीले घरेलु दर्शको समर्थनले जित निकाल्न सकिएको बताए । फाइनल जित्नेगरी तयारी गरिएको उनको दाबी छ ।

पराजित टिमका प्रशिक्षक अशोक बरालले तयारी पूर्णरुपमा गर्न नसकेको हुनाले जित निकाल्न नसकेको बताए । टिमका महत्वपूर्ण तीनजना खेलाडीको अभावका कारण पनि मैदानमा सेट हुन गाह्रो भएको बताए ।

प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ । प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।

Post Comments