News फारवेस्ट स्पोर्टस गौरीगंगा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

गौरीगंगा । फारवेस्ट स्पोर्टस क्लब यहाँ जारी चौथो गौरीगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वाटरफाइनलतर्फ फारवेस्ट स्पोर्टसले सुदुरपश्चिम–११ लाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । गौरीगंगा खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ फारवेस्ट स्पोर्टसका लागि अभिषेक महतो र आशिष श्रेष्ठले गोल गरेका थिए । त्यस्तै सुदुरपश्चिमका लागि भने सागर चौधरीले एक गोल गरे भने थप एक गोल फारवेस्ट स्पोर्टसका आशिष श्रेष्ठले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

टाईब्रेकरमा भने फरवोस्ट स्पोर्टसले सुदुरपश्चिममाथि ५–४ को जित निकाल्न सफल भयो । खेलमा फारवेस्ट स्पोर्टसका जियारथ शेख खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २७ गते आइतबारको क्वाटरफाइनल खेल रानी बन र फारवेस्ट पशुपति क्लब बीच हुने आयोजकले जानकारी दियो ।

गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगा–८, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १ गतेका दिन हुनेछ ।

Post Comments