News फर्साटिकरलाई छैठौं न्यु सृजना कपको उपाधि
सुरज राना मगर

करौजिया । यहाँ सम्पन्न स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कपको उपाधि फर्साटिकर युवा क्लब, फर्साटिकरले जितेको छ । फाइनलमा समपुर्ण युवा क्लब, सुपौलीलाई ४–३ ले हराउँदै फर्साटिकर च्याम्पियन बनेको हो ।

तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा भएको फाइनल भिडन्तमा फर्साटिकरका लागि टिकाराज गुरुङले दुई गोल गरे भने आशिष राना र चन्द्र पुनले थप एक–एक गोल गरे । उता पराजित समपुर्णका लागि सृजन क्षेत्रीले दुई गोल गरे भने थप एक गोल अभि लामाले गरे ।

विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्यो भने उपविजेता समपुर्णले ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फर्साटिकरका टिकाराज गुरुङ फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक फर्साटिकर कै शुभांकर जिसी बन्दा उदीयमान खेलाडी समपुर्णका निखिल पुन चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार नव टिकुलीगढका निराजन खत्रीले हात पारे भने प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी समपुर्णका सृजन क्षेत्री घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रुपन्देही क्षेत्र नं. ३ (ख) लुम्बिनी प्रदेश सभासद तुल्सी प्रसाद चौधरी, तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वर देवी चौधरी, मुख्य प्रायोजक क्या. नरजंग गुरुङ र आयोजक क्लबका अध्यक्ष सोबित दर्लामी लगायतले पुरस्कृत गरेका थिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजनामा फागुन ९ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments