News आयोजक हाम्रो इटहरी भेट्रानलाई उपाधि
गोलनेपाल

इटहरी । चौथो इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक हाम्रो इटहरी भेट्रान क्लब, इटहरी, सुनसरीले जितेको छ । शनिबार भएको फाइनलमा हाम्रो इटहरीले रियल फ्रेण्डस भेट्रान, सिक्किम (भारत) लाई टाईब्रेकरमा हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।

त्यसअघि जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ हाम्रो इटहरीका लागि लिला राम मगरले गोल गरेका थिए भने रियल फ्रेण्डसका लागि सन्तोष राईले गोल गरेका थिए । टाईब्रेकरमा भने हाम्रो इटहरीले रियल फ्रेण्डसमाथि ५–३ को जित निकाल्दै च्याम्पियन बन्यो ।

विजेता बनेको हाम्रो इटहरी भेट्रानले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्यो भने उपविजेता रियल फ्रेण्डस भेट्रानले ६१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । हाम्रो इटहरीका लिला राम मगर फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले त्यसवापत नगद २१०० र ट्रफी हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक हाम्रो इटहरी कै सुनिल तामाङ बने भने उत्कृष्ट डिफेन्डर हाम्रो इटहरी कै दिवस राई चुनिए । उत्कृष्ट मिडफिल्डर रियल फ्रेण्डसका माइकल लेप्चा चुनिदा उत्कृष्ट फरवार्ड रियल फ्रेण्डस कै सन्तोष राई घोषित भए ।

उत्कृष्ट प्रशिक्षक हाम्रो इटहरीका प्रकाश कोइराला बनदा सर्वाधिक गोलकर्ताको पुरस्कार कुल ६ गोल गरेका हाम्रो इटहरी कै सुरेन्द्र तामाङले प्राप्त गरे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ३५–३५०० र ट्रफी हात पारे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हाम्रो इटहरी कै अंकुर कुमार खड्गी घोषित भए । उनले त्यसवापत नगद ७ हजार र ट्रफी हात पारे । समापन कार्यक्रममा खेलाडीहरुलाई प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल लगायतले पुरस्कृत गरेका थिए ।

हाम्रो इटहरी भेट्रान क्लब, सुनसरीको आयोजनामा गत फागुन २६ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ९ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments