News सन्जिवनी ११औं नवयुवा कपको सेमिफाइनलमा
सुरज राना मगर

ओमसतिया । सन्जिवनी युवा क्लब, देवीनगर यहाँ जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा सन्जिवनीले झरना स्पोर्टस क्लब, कुन्जलापुरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको खेलमा सन्जिवनीका लागि निशान न्यौपाने र बृजेश बिष्टले एक–एक गोल गरे । खेलमा सन्जिवनी कै निशान न्यौपाने म्यान अफ द म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत ५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल बिग बुद्ध क्लब, सुनवल र न्यु राईज युथ क्लब, बभनी बीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

Post Comments