News घरको जगजस्तै फुटबलको जग ग्रासरूट बलियो बनाउनुपर्छ : शेर्पा
गोलनेपाल

सिन्धुली । अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको मेरुदण्ड भनेकै ग्रासरूट कार्यक्रम रहेको बताएका छन्। ग्रासरूट फुटबलबाटै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुँदै आइरहेको बताउँदै उनले यो कार्यक्रम फुटबलको मेरूदण्ड रहेको बताएका हुन्।

सिन्धुलीस्थित दुधौली नगरपालिका-४ डकाहामा ग्रासरूट फुटबल कार्यक्रम शुरूआत गर्दै उनले उक्त कुरा बताएका हुन्। आफ्नो कार्यकालमा ४८ जिल्लामा एकैपटक ग्रासरूट फुटबल कार्यक्रम शुरूआत गरेको उनले सम्झना गरे। यसबाट धेरै खेलाडी उत्पादन भएको उनले बताए।

'हेर्दाखेरी यो कार्यक्रम सामान्यजस्तो लाग्छ। तर,हामीले ४८ जिल्लाका ६० स्थानमा ग्रासरूट फुटबल शुरू गर्दा धेरै महिला र पुरुष खेलाडी उत्पादन भएका छन्,' उनले भने, 'घर बनाउँदा त्यसको जग बलियो बनाउँछौँ त्यसरी नै फुटबलको पनि जग बलियो बनाउनुपर्छ। फुटबलको बलियो जग भनेकै ग्रासरूट हो। यसलाई बलियो बनाउनुपर्छ।'

डिजिटल युगमा परिवारमा पनि एकै ठाउँमा बस्दापनि टाढा भएकोजस्तो महसुस गराइरहेको उनले बताए। मोबाइल र सामाजिक सञ्जालले गर्दा यस्तो भइरहेको उनको भनाइ थियो। तर, ग्रासरूट फुटबलले बालबालिकालाई मोबाइल र सामाजिक सञ्जालको लतबाट बाहिर ल्याएर समाजलाई एकै ठाउँमा जोड्ने काम गर्ने उनले बताए।

'विभिन्न ठाउँबाट आएर बालबालिकालाई एकै ठाउँमा खेल्ने वातावरण मिलाएका छौँ। यसले सोसियल इन्ट्रिगेटिभको रूपमा काम गरिरहेको छ,' उनले भने, 'त्यतिमात्रै होइन, शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्छ। शिक्षाले मात्रै हुँदैन खेलकुद पनि भयो भने शरीर तन्दुरूस्त बनाउँछ। शरीर तन्दुरुस्त भए ज्ञान पनि हासिल गर्न सहज हुन्छ जस्तो लाग्छ।'

दिनभर पढेर आएको कारण बालबालिका थकित हुने भएको कारण साँझमा खेल्ने वातावरण मिलाउनुपर्ने उनले बताए। विकसित देशमा पनि बालबालिका साँझ नै खेल्ने भएको कारण फल्ड लाइटको व्यवस्था गर्नुपर्ने उनले बताए। त्यसैले ग्रासरूट फुटबललाई साँझ चार बजेदेखि सञ्चालन गर्दा राम्रो हुने उनले बताए।

'बालबालिका आफ्टर स्कुलपछि खेलेको अवस्थामा राम्रो नतिजा दिन सक्छन्। दिनभरि अध्ययन गर्दागर्दै मानसिक तनाव हुन्छ। मानसिक तनाव भएको बेला मैदानमा उत्रिँदा त्यसलाई रिलिज गर्छ। बेलुका ९/१० बजेसम्म प्रशिक्षण गर्दा मानसिक तनाव त निस्किने नै भयो। खेलेर गएपछि नुहाउने बानि हुन्छ। त्यसले गर्दा शरीर स्वास्थ्य हुन्छ, खाना रुचाउँछ,' उनले भने, 'त्यसपछि थकाइले मोबाइल हेर्ने बानी छुट्छ, चाँडै बेडमा जाने कल्चर विकास हुन्छ।'

त्यस्तै, एन्फाका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले ग्रासरूट फुटबल तल्लो लेभलको कार्यक्रम रहेको बताए। यो कार्यक्रम नभई माथिल्लो तहमा फुटबल विकास नहुने उनको भनाइ थियो। त्यसैले यस्ता कार्यक्रम सञ्चालन गरिरहे राष्ट्रिय लेभलमा पुग्ने धेरै खेलाडी उत्पादन हुने उनले बताए।

'हाम्रो टार्गेट भनेको ३०/३५ हजार बालबालिका शनिबार एकैपटक खेलुन् भन्ने थियो। हाम्रो चार वर्षे कार्यकालमा १७/१८ हजार बालबालिकाले ग्रासरूट फुटबलमा सहभागिता जनाएका थिए,' उनले भने।

डकाहामा शुरू भएको ग्रासरूट कार्यक्रममा करिब २०० बालबालिका उपस्थित थिए। अन्य जिल्लामा ग्रासरूट कार्यक्रम सञ्चालन गर्दाभन्दा डकाहा यो कार्यक्रम शुरूआत गर्दा सजिलो भएको उनले बताए।

'ग्रासरूट फुटबल सञ्चालन गर्न भोलियन्टियरको आवश्यक पर्छ। यहाँका भोलियन्टियर भाइहरू लोकल हुनुहुँदो रहेछ। फुटबल खेलाडी नै भएको कारण मलाई हिजो एक दिनको वर्कसप गरेर मैदानमा आउँदा निकै सहज भयो,' उनले भने। उनले यो कार्यक्रमले निरन्तरता पाउने विश्वास गरे।

यस्तै वडाध्यक्ष रित विश्वकर्मा रितेशले विगतदेखि नै एन्फा पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले सहयोग गरिरहेको बताए। निरन्तर साथ सहयोगले आफूलाई ऋणी बनाएको उनले बताए। डकाहाबाट केन्द्रमा गएर व्यावसायिक फुटबल नखेल्दासम्म त्यो ऋण तिर्न नसकिने उनको भनाइ थियो।

'यो ऋण कसरी तिर्ने भनेर मैले सोचिरहेको छु। जबसम्म केन्द्रमा पुगेर हाम्रा भाइहरूले व्यावसायिक फुटबल खेल्दैनन् तबसम्म यो ऋण तिर्न सकिँदैन जस्तो लाग्छ। त्यसैले भाइहरूले यो मिहिनेत र सहयोगलाई आत्मसाथ गरेर ग्रासरूट फुटबललाई सफल बनाउनुहुन्छ भन्ने विश्वास लिएको छु,' उनले भने।

कार्यक्रम प्रदेश सांसद श्यामकुमार घिमिरे, एन्फा उपाध्यक्ष विराटजंघ शाहीलगायतको उपस्थिति थियो।

Post Comments