News सन्जिवनी फाइनलमा, उपाधिका लागि न्यु राईजसँग भिड्ने
सुरज राना मगर

ओमसतिया । उत्कृष्ट जितका साथ सन्जिवनी युवा क्लब, देवीनगर जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा सन्जिवनीले आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको खेलमा सन्जिवनीका लागि गणेश हमालले दुई गोल गरे भने थप एक गोल अजित लामाले गरे । खेलमा दुई गोल गरेका सन्जिवनीका गणेश हमाल म्यान अफ द म्याच घोषित भए ।

सन्जिवनीले अब यही चैत १० गते शनिबारका दिन हुने फाइनलमा न्यु राईज युथ क्लब, बभनीसँग उपाधिका लागि भिड्ने खेल संयोजक बिष्णु बराल मगरले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

Post Comments