News फिफा विश्वकप छनौटः एसियामा मिश्रित नतिजाहरु
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनौट प्रतियोगिता अन्तर्गत बिहीबार भएका केही खेलहरुमा बलिया टोलीहरुले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

समूह आई मा रहेको अष्ट्रेलियाले लगातार तेस्रो जित हात पार्ने क्रममा लेबनानलाई २–० ले हरायो । त्यस्तै समूह जी तर्फ केही महिना अघि सम्पन्न एसियन कपको उपविजेता जोर्डनले दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई उसकै घरमा ३–० ले निराश बनायो ।

त्यस्तै समूह ई मा उज्वेकिस्तानले दोस्रो जित हात पार्ने क्रममा हङ्गकङ्गलाई उसकै घरमा २–० ले हरायो । समूह डी तर्फ किर्गिस्तानले दोस्रो जित हात पार्ने क्रममा चाइनिज ताइपेईमाथि समान २–० कै जित दर्ता गर्यो ।

समूह सी मा दावेदार दक्षिण कोरिया भने सियोलमा भएको खेलमा थाइल्याण्डसँग १–१ को बराबरीमा रोकिएको छ । त्यस्तै समूह बी तर्फ एसियन पावर हाउस जापानले उत्तर कोरियालाई १–० ले हरायो भने सोही समूहमा म्यानमार र सिरियाले १–१ गोलको बराबरी खेले ।

 

Post Comments