News लेकसाइडलाई कृष्ण मेमोरियल भेट्रान कपको उपाधि
उमेश पुन

पोखरा । पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पोखराको बाराहीघाटमा सम्पन्न पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि लेकसाइड पहेंलोले जितेको छ ।

बाराहीघाटस्थित खेलमैदानमा भएको फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहेंलोले उपाधि जितेको हो ।

खेलको निर्धारित समय गोलरहित भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा लेकसाइड पहेंलोका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार बिफल बनाउँदै उपाधि चुमाए । बस्नेत नै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बन्दै ५ हजार पुरस्कार प्राप्त गरे ।

उपाधिसँगै विजेता बनेको लेकसाइड पहेंलोले नगद १ लाख १ हजार १ सय ११ शिल्ड, मेडल तथा प्रमात्रपत्र प्राप्त गर्याे । यस्तै प्रतियोगिताको उपविजेता गार्डेन एफसीले ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

प्रतियोगितामा लेकसाइड पहेंलोका मिली गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा एनए भेट्रानका कन्या गुरुङले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम लेकसाइड सेतोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । यस्तै उत्कृष्ट प्रशिक्षकका रुपमा लेकसाइड पहेंलोका राम भुजेल घोषित भए ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।

पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त रुपमा प्रतियोगिता आयोजनामा गरेका थिए । सो प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।

Post Comments