News सन्तको निर्णायक गोलसँगै आयोजक भूपू सैनिक सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बेलबास जारी सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा भूपू सैनिकले न्यु युथ युनियन क्लब, पाल्पालाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । बुटवल–१३ सालघारी स्थित जवई खेलमैदानमा भएको खेलमा सन्त गुरुङले गरेको एक मात्र गोल भूपू सैनिकलाई जित दिलाउन निर्णायक गोल बन्यो ।

खेलमा आयोजकले आफ्नो अग्रता दोब्बर पार्ने अवसरलाई सदुपयोग गर्न सकेन । दोस्रो हाफतर्फ पाएको पेनाल्टीको अवसरलाई आयोजक भूपू सैनिकका अजित गुरुङले गोलमा परिणत गर्न सकेनन् । यद्यपि घरेलु टोलीले जित भने आत्मसात गर्न सफल भयो ।

खेलमा आयोजक विरुद्ध प्रशंसनीय प्रदर्शन गरेका पराजित न्यु युथ युनियनका गोलरक्षक गोविन आले म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत चैत २६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल राधाकृष्ण फुटबल क्लब, बुटवल र विपी स्मृति भैरव एफसी, नवलपरासी बीच हुने खेल संयोजक प्रताप रानाले जानकारी दिए ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, बेलबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख १ गतेका दिन हुनेछ ।

 

Post Comments