News सातौं खादले सिद्धदेवी आमन्त्रित गोल्डकप बैशाख पहिलो सातादेखि
गोलनेपाल

चौबिसे । चौविसे गाउँपालिका वडा नं. ७ मौनावुधुकमा आगामी वैशाख २ गतेदेखि सातौं खादले सिद्धदेवी आमन्त्रित गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।

चौविसे सामुदायिक विकास तथा सूचना केन्द्र (सिसिडिआइसी) फुटवल क्लवको आयोजनामा आगामी वैशाख २ देखि ५ गतेसम्म मौनावुधुक खेल मैदानमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।

फुटवलको माध्यमवाट यस क्षेत्रको प्रचारप्रचार, विकास गर्ने र पहिचान गराउने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको आयोजक सिसिडिआइसी फुटवल क्लवका अध्यक्ष श्यामबहादुर चेम्जोङले बताए ।

मौनावुधुकमा रहेको शक्तिपिडको रुपमा रहेको धार्मिक आस्थाको केन्द्र खादले सिद्धदेवी देवस्थलको प्रचार प्रसार गर्नु मुख्य उद्देश्य रहेको सातौं संस्करणको व्यवस्थापनको भूमिकामा रहेका कोशी प्रदेश फुटवल संघका सदस्य हर्क चेम्जोङले बताए । उनका अनुसार प्रतियोगिता सातौं संस्करणसम्म आइपुग्दा राष्ट्रियस्तरका धेरै खेलाडी उत्पादन भइसकेका छन् । अण्डर–१६ राष्ट्रिय टिममा प्रतिनिधित्व गरिसकेका दिलन चेम्जोङ यहि प्रतियोगिताको उत्पादन रहेको उनको भनाई छ । उनी हाल संकटा क्लवमा आवद्ध छन् । यस प्रतियोगितामा उनी आयोजक टिमवाट खेल्नेछन् ।

८ टिमको प्रतियोगितामा सहभागित रहनेछ । सातौं सस्करणमा पुरस्कार राशिमा वृद्धि गरिएको सचिव पर्शु विकले बताए । उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले ६६ हजार ६ सय ६६ रुपैया प्राप्त गर्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको आयोजकको भनाई छ ।

गतसंस्करणको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैया प्राप्त गरेका थिए । गतसंस्करणको विजेता आयोजक रातो र उपविजेता आयोजक निलो भएको थियो ।

प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि स्थानीय तह, देश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता संचालन गर्नका लागि ८ लाख रुपैया बजेट विनियोजन गरिएको छ । प्रतियोगिताको प्रायोजक चौविसे गाउँपालिका वडा नं ७ वडा कार्यालय र चाैविसे गाउँपालिका रहेको छ । खेलको प्रत्यक्ष प्रशारण गोलनेपाल डटकमले गर्नेछ ।

Post Comments