News गोर्खा ब्वाईजलाई सातौं भूपू सैनिक कपको उपाधि
सुरज राना मगर

बुटवल । सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवलले जितेको छ । शनिबार सम्पन्न फाइनलमा गोर्खा ब्वाईजले बिपी स्मृति भैरव फुटबल क्लब, नवलपरासीलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

बुटवल–१३, बेलबास स्थित जवई खेलमैदानमा भएको खेलमा गोर्खा ब्वाईजका लागि बिकास थापा, आफिद ओलावाले र फोडे फोफोनाले गोल गरे । उता पराजित भैरवका लागि अर्का विदेशी खेलाडी फोफानाले एक मात्र गोल फर्काएका थिए ।

विजेता बनेको गोर्खा ब्वाईजले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता भैरवले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ गोर्खा ब्वाईजका निशान राना उत्कृष्ट गोलरक्षक बने । उत्कृष्ट डिफेन्डर र मिडफिल्डर पनि गोर्खा ब्वाईज कै क्रमशः फ्लोरेन्ट कोआरा र उमेश थापा घोषित भए । उत्कृष्ट फरवार्ड भैरवका फोफना बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी गोर्खा ब्वाईज कै बिकास थापा घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी निरन्जिवी राना, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक क्लबका अध्यक्ष गोपीराम पुन लगायतले पुरस्कृत गरेका थिए ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, बेलबासको आयोजनामा गत चैत २० गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, पाल्पा र नवलपरासीका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments