News पुलिसलाई १४औं जितपुरसिमरा गोल्डकपको उपाधि
गोलनेपाल

जितपुरसिमरा । यहाँ सम्पन्न जगदम्बा स्टिल १४औं जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस कलबले जितेको छ । सोमबार भएको फाइनलमा पुलिसले मच्छिन्द्र फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

त्यसअघि सिमरा रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने पुलिसले मच्छिन्द्रमाथि ४–३ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो । विजेता बनेको पुलिसले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता मच्छिन्द्रले ५ लाखमा चित्त बुझायो ।

नव जन जागृति युवा क्लब, जितपुरसिमरा–२, सिमरा, बाराको आयोजनामा गत चैत २४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments