News फराकिलो जितका साथ इन्टर सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । एकतर्फी र फराकिलो जितका साथ इन्टर स्पोर्टस क्लब यहाँ जारी दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शनिबार भएको चौथो क्वाटरफाइनलमा इन्टरले समपुर्ण युवा क्लबलाई शून्यका विरुद्ध ९ गोलको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको खेलमा इन्टरका लागि निशान्त न्यौपानेले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै अनुज गैरे र आवेश शाहीले थप दुई–दुई गोल गरे भने रोहन केसीले एक गोल गरे ।

खेलमा इन्टर कै मनिष तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ ६ गते आराम दिइएको खेल संयोजक अमर थापा मगरले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत जेठ ७ गते सोमबारको पहिलो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब र साविक विजेता लिस्नु युवा क्लब बीच हुने खेल संयोजक थापाले बताए । त्यस्तै जेठ ८ गते हुने दोस्रो सेमिफाइनल खेल इन्टर स्पोर्टस र आयोजक इभोलुशन क्लब अफ बुटवल बीच हुनेछ ।

इभोलुशन क्लब अफ बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राम बहादुर पुनले बताए । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।

Post Comments