News अष्ट्रेलियामा जगजितले पाए नयाँ क्लब
गोलनेपाल

काठमाडौं । नेपाली फुटबल टोलीका अन्तर्राष्ट्रिय मिडफिल्डर जगजित श्रेष्ठले अष्ट्रेलियामा नयाँ क्लब पाएका छन् ।

पछिल्लो केही वर्ष यता अष्ट्रेलिया मै बसोबास गर्दै आएका जगजितले एनपिएल साउथ अष्ट्रेलिया लिग खेल्ने पारा हिल नाईटस एससीमा आवद्ध भएका हुन् ।

रिपोर्टअनुसार जगजितले गत अगस्त १ तारीखका दिन नै क्लबसँग आधिकारिक रुपमा आवद्ध भएका थिए । स्मरण रहोस, अष्ट्रेलियामा फुटबल शुरु भइसकेको छ ।

साथै जगजितको नयाँ क्लबले हालसम्म दश खेलहरु खेलिसकेको छ र लिगतालिकामा मात्र सात अंक जोड्दै पुछारमा छ । त्यस्तै लिगतालिकाको शिर्ष स्थानमा रहेको एडिलेड कमेटस एफसीको १९ अंक छ ।

नयाँ क्लबमा आवद्ध भएका जगजितले खुशी व्यक्त गरेका छन् । कुराकानीका क्रममा उनले भने, "यो साउथ अष्ट्रेलियाको प्रिमियर लिग हो । म मेरो नयाँ क्लबका लागि उत्कृष्ट खेल्नेछु । साथै यहाँ नेपाली फुटबलर र फुटबलबारे विशेष छाप छोड्ने प्रयास गर्नेछु ।"

अष्ट्रेलिया गए यता नेपालको राष्ट्रिय टोलीमा पर्न नसकेका जगजितले देशका लागि खेल्ने सपना भने अझै मारेका छैनन् । उनी यसअघि राष्ट्रिय टोली कै लागि भनेर स्वदेश समेत फर्किएका थिए । यद्यपि त्यतिबेला उनी टिममा पर्न भने असफल भएका थिए ।

स्मरण रहोस, जगजतिले अष्ट्रेलिया यसअघि नुनावाडिङ सिटी एफसी, सनसाईन जर्ज क्रस र प्रेस्टन लायन्सबाट पनि अष्ट्रेलियामा व्यवसायीक फुटबल खेलिसकेका छन् ।

 

 

Post Comments