News अन्तर्राष्ट्रिय रंगशाला बनाउन फर्साटिकरको आर्थिक सहयोग
सुरज राना मगर

बुटवल । रुपन्देहीको फुटबलमा छोटो समय मै विशेष पहिचान बनाउन सफल फर्साटिकर युवा क्लबले आफ्नो भूमिका फुटबलमा मात्र सिमित राखेको छैन ।

फुटबल बाहेक सामाजिक उत्तरदायीत्व र अन्य खेलकुद गतिविधीमा पनि आफूलाई सक्रिय राखेको फर्साटिकरले भरतपुरमा बन्दै गरेको गोतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

हाँस्य कलाकार दम्पती सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न गईरहेको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि फर्साटिकरले ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

क्लबका अध्यक्ष मुकेश कुँवरले देशकै प्रतिष्ठासँग जोडिएको उक्त स्टेडियम बनाउने अभियानमा आफूहरुले पनि सानो योगदान पुर्याउन पाउँदा खुशी लागेको बताए । साथै उनले आफूहरु फुटबलमा मात्र नभएर अन्य खेलकुद गतिविधी र सामाजिक उत्तरदायित्वका कार्यहरु गर्न पनि सधै अघि सर्न तत्पर रहेको बताए ।

उक्त आर्थिक सहयोग संकलन गर्न सहयोग गर्ने क्लबका सदस्य लगायत सबैमा अध्यक्ष कुँवरले धन्यवाद समेत दिए । स्मरण रहोस, फर्साटिकर युवा क्लबले रुपन्देहीमा मात्र नभएर जिल्ला बाहिर पनि विभिन्न फुटबल प्रतियोगिताहरुमा निरन्तर सहभागिता जनाउँदै सफलता समेत हासिल गर्दै आइरहेको छ ।

साथै क्लबले वार्षिक रुपमा रुपन्देही जिल्ला कै परिचित फर्साटिकर कप राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना समेत गर्दै आइरहेको छ ।

 

 

Post Comments