News विश्वकप र एएफसी एसियन कप छनौट खेलहरु स्थगित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप तथा एएफसी एसियन कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणको खेलहरु कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित भएको छ ।

स्मरण रहोस, यसअघि एसियाली छनौट चरणका बाँकी खेलहरु यहि आउँदो अक्टुबर र नोभेम्बरमा हुने मिति तय भएको थियो । यो निर्णय कोभिड–१९ कै कारण लिनु परेको फिफा र एएफसीले जनाएको छ ।

हाल कोभिड–१९ कै कारण विभिन्न देशहरुमा खेलकुद गतिविधी ठप्प रहेको र छनौट प्रतियोगिताका लागि आवश्यक तयारी गर्न प्रर्याप्त समय नभएको फिफा र उएफसीको ठम्याई छ ।

साथै विभिन्न देशहरुमा त्यहाँका सरकारले स्वास्थ्य सम्बन्धी कडा नीति र अन्तर्राष्ट्रिय आवागमनमा कडाई अनि अझै पनि अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएकाले तत्काल छनौट चरणका खेलहरु सम्पन्न गर्न अझै कठिन हुने बताइएको छ ।

रिपोर्टअनुसार अब छनौट चरणका खेलहरु आगामी बर्ष अर्थात २०२१ मा हुने एएफसीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सहभागि सदस्य राष्ट्रहरुको स्वास्थ्य नै पहिलो प्राथमिकतामा रहेको भन्दै फिफा र एएफसीले वर्तमान परिस्थतिलाई निरन्तर मुल्यांकन गरेर स्थगित भएका छनौट चरणका खेलहरुको मिति छिटै घोषणा गर्ने समेत बताएको छ । 

छनौट प्रतियोगिताका लागि आवश्यक तयारीमा थियो नेपाल

त्यस्तै छनौट प्रतियोगिता कै लागि भनेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ खेलाडीहरुलाई प्रारम्भिक छनौटमा पारेको थियो । साथै सबैको स्वाब परिक्षण समेत गरेको थियो ।

त्यति मात्र नभएर यहि आउँदो भदौदेखि नेपाल आर्मीको मुख्यालयमा रहेको मैदानमा अभ्यास शुरु गने समेत पक्का भइसकेको थियो । तर फिफा र एएफसीको यो निर्णयसँगै नेपालको अभ्यास र तयारीमा अन्यौलता थपिएको छ ।

नेपालले छनौट प्रतियोगितातर्फ अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग घरेलु मैदान मै तीन म्याचहरु खेल्न बाँकी थियो । नेपालको फिफा विश्वकप छनौटको यात्रा समाप्त भइसके तापनि सन् २०२३ को एएफसी एसियन कपमा छनौट हुने सम्भावना भने कायमै छ ।

Post Comments