काठमाडौं । बहुप्रतिक्षित एन्फा महिला लिग फुटबल प्रतियोगिताका लागि पाँच वर्षको बजेट बिनियोजन गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको सातौं कार्यसमितिको भर्चुअल बैठकले महिला लिगबारे बजेट बिनियोजनसँगै लिगबारे विभिन्न निर्णय गरेको हो ।
स्मरण रहोस, एन्फाले आउँदो भदौमा एन्फा महिला लिग आयोजना गर्ने निर्णय गरेको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकले एन्फा लिगको आगामी पाँच वर्षका लागि बजेट बिनियोजन समेत गरिएको छ ।
जसअन्तर्गत यस वर्ष हुने एन्फा महिला लिगका लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ बिनियोजन गरिएको छ । लिगमा यसवर्ष कुल १० टोलीहरुले सहभागिता जनाउँदैछन् । जसमा महिला लिग छनौटबाट कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।
नगरपालिकाको टेलीतर्फ वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका रहेका छन् भने ए, बी र सी डिभिजन क्लबतर्फबाट संकटा क्लब र बागमती युथ क्लब रहेका छन् । त्यस्तै त्यसमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब समेत रहेका छन् ।
एन्फाका अनुसार महिला लिगतर्फ शुरुवातमा सिंगल राउण्ड रोबिनका कुल ४५ खेलहरु हुनेछन् । त्यसपछि सुपर लिगतर्फ डबल राउण्ड रोबिनका २० खेलहरु हुनेछन् भने सुपर लिगका उत्कृष्ट चार टोलीहरु बीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी थप ४ खेलहरु हुनेछन् । जसबाट कुल ६९ खेलहरु हुने एन्फाले जनाएको छ ।
एन्फाको सातौं कार्यसमितिको बैठकले गरेको निर्णयहरु हेर्नुहोस्ः