काठमाडौं । प्रतिष्ठित एएफसी चयालेञ्ज लिगको छनौट चरणको खेल खेल्ने तयारीमा रहेको नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडले नेपालका चर्चित खेलाडीहरुलाई अनुवन्ध गर्दै बलियो स्क्वाड बनाउने तयारीमा छ ।
क्लबले राष्ट्रिय टोलीका चर्चित खेलाडीहरु लाकेन लिम्बु, सनिष श्रेष्ठ, आयुष घलान, एरिक बिष्ट जस्ता खेलाडीहरुलाई स्क्वाडमा सामेल गरेको छ । त्यसो त क्लबले अन्जन बिष्ट, अनन्त तामाङ जस्ता अनुभवी र स्टार खेलाडीहरुलाई पनि आफ्नो स्क्वाडमा आवद्ध गरिसकेको छ ।
स्मरण रहोस, चर्च ब्वाईजले आउँदो अगस्त १३ तारीखका दिन छनौट चरणको खेल अन्तर्गत भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबसँग खेल्ने कार्यक्रम छ । जुन खेल दशरथ रंगशालामा हुने यसअघि नै तय पनि भईसकेको छ ।
उता चर्च ब्वाईजका क्लब अध्यक्ष रुबेन राईले पनि च्यालेञ्ज लिगका लागि राम्रो तयारीसँगै स्क्वाड पनि बलियो बनाउनतर्फ लागेको बताए । क्लबले देश कै प्रतिनिधित्व गर्न लागेकाले आफूहरुले त्यसका लागि पूर्ण तयारी गर्ने बताए । साथै पारो एफसी विरुद्ध राम्रो नतिजा निकाल्ने योजना रहेको समेत सुनाए ।
साथै अध्यक्ष राईले एएफसी च्यालेञ्ज लिगको छनौट खेलतर्फ पारो एफसी विरुद्ध भिड्ने आफ्नो क्लबको फाइनल स्क्वाड पनि छिटै सार्वजनिक गरिने बताए ।