निजगढ । मधेश प्रदेशसँगै पछिल्लो समय मोफसलको फुटबलमा पनि आफूलाई नियमित सक्रिय राख्दै आईरहेको निजगढ फुटबल क्लबले अहिले आएर भेट्रान फुटबललाई पनि प्रवद्र्धन गर्ने जमार्को कसेको छ ।
स्थानीय स्तर मै भेट्रान फुटबललाई पनि प्राथमिकतामा राख्ने उद्देश्यका साथ निजगढ फुटबल क्लबले शनिबार मैत्रीपूर्ण भेट्रान फुटबल म्याचको आयोजना गर्यो । फुटबलसँगै स्वास्थ्य, मनोरञ्जन र भाईचारा कायम गर्ने उद्देश्यका साथ क्लबले मैत्रीपूर्ण भेट्रान फुटबल म्याच आयोजना गरेको हो ।
निजगढ रंगशालामा भएको खेलमा घरेलु टोली निजगढले बिरगंज सिटी भेट्रान्स क्लबलाई ३–२ ले हरायो । खेलमा निजगढ भेट्रान्सका लागि नरेश लामा, शेखर लामा र निर्दिप जोशीले गोल गरे । पराजित बिरगंजका लागि कृष्ण शाक्य र शुलभ जंग राणाले गोल गरेका थिए ।
खेलमा पुराना समयका चल्तीका राष्ट्रियस्तरमा खेलेका खेलाडीहरुको पनि सहभागिता रहेको थियो । सोही अवसरमा भेट्रान फुटबललाई अझै प्राथमिकतामा राखेर नयाँ कार्यक्रम बनाउने निजगढ एफसीका अध्यक्ष शम्भु थापा मगरले आफ्नो योजना समेत सुनाए ।