News आयोजकको जितमा एरोनको दुई गोल
सुरज राना मगर

पिपरिचापा । आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५, पिपरिचापा जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बुधबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ एक खेलाडी कम हुनुका बावजुद आयोजक गौतम बुद्धले गौतम सेभेन स्टार क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनल स्थान पक्का गरेको हो ।

आयोजक गौतम बुद्धको जितमा दुवै गोल दर्शनीय रुपमा एरोन थापाले गरे । उता पराजित बुद्ध सेभेनका लागि असिम गुरुङले पेनाल्टी मार्फत एक मात्र गोल फर्काएका थिए ।

त्यस्तै खेलको दोस्रो हाफतर्फ आयोजकका सन्देश दगामीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली केही दबाबमा परेको थियो । यद्यपि आयोजकले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

बुधबारको खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिता अन्तर्गत भदौ १३ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल र खस्यौली फुटबल क्लब, खस्यौली बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।

गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।

Post Comments