इलाम । रेड हर्ष फुटबल क्लब, इलामको आयोजनामा हुने इलाम गोल्डकपको दोस्रो संस्करण आगामी मंसिर २२ देखि २९ गतेसम्म हुने भएको छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक रुपमा प्रतियोगिताबारे जानकारी गराएको हो ।
यसपटक प्रतियोगिताको पुरस्कार राशीमा पनि दोब्बर गरिएको छ । आयोजकका अनुसार प्रतियोगिताको दोस्रो संस्करणको वजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ । यसअघि गत संस्करणको विजेता एनआरटीले ५ लाख प्राप्त गरेको थियो ।
प्रतियोगितामा सहभागी हुने ए डिभिजनसहित सम्भावित आठ टिमको नामसमेत आयोजकले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्यो । सहभागी हुने टिमहरुमा न्युरोड टिम ९एनआरटी०, मच्छिन्द्र एफसी, थ्रीस्टार एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, बिर्तामोड युनाइटेड एफसी, अफ्रिकन क्लब दाउफिन्स र आयोजक रेडहर्स फुटबल क्लब रहेका छन् ।
आयोजक समितिका साङ्गे योल्मोले प्रतियोगिताका लागि तयारी सुरु भइसकेको बताए । ‘हामीले मैदान र आर्थिक सहयोगसहितका काम सुरु गरेका छौं,’ उनले भने, ‘गतवर्षको प्रतियोगिता भव्य भएकाले हामी उत्साहित छौं ।’