News खस्यौली प्रथम गौतम बुद्ध कपको फाइनलमा
सुरज राना मगर

पिपरिचापा । प्रभावशाली जितका साथ खस्योली फुटबल क्लब, बुटवल यहाँ जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा खस्यौलीले हरैया युथ क्लब, हरैयालाई ५–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । खस्यौलीको जितमा कप्तान अनुज गैरेले दुई गोल गरे भने एलिस मगर, सबी गुरुङ र मनिष तामाङले थप एक–एक गोल गरे ।

उता पराजित हरैयाका लागि एक गोल राज भुषालले गरे भने थप एक खस्यौलीका सुवास परियारले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । खेलमा खस्यौलीका लागि महत्वपूर्ण दुई गोल गरेका खस्यौलीका कप्तान अनुज गैरे म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भदौ १८ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्र, पिपरिचापा र जनज्योति युवा क्लब, डिंगरनगर बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।

गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।

Post Comments