कोटिहवा । बिगत दुई दशक बढी समयदेखि रुपन्देहीको स्थानीयदेखि छिमेकी जिल्ललाका राष्ट्रिय फुटबल गतिविधीहरुमा आफूलाई निरुन्तर सहभागि गराउँदै आएको लिस्नु युवा क्लब, कोटिहवाको परिचय फुटबलमा मात्र सिमित रहेको छैन ।
कतिपय क्लबहरु प्रतियोगिता आयोजना गर्दा बर्षको कुनै निश्चित समयसम्म आफूलाई सक्रिय राख्ने होड चलिरहेका बेला लिस्नु त्यसको अपवाद क्लबहरु मध्ये एकका रुपमा देखिएको छ । अर्थात् लिस्नु बर्षैभरि खेलकुद बाहेक अन्य गतिविधीहरुमा पनि उत्तिकै सामेल र सक्रिय हुँदै आएको छ ।
रक्तदान, सरसफाई, भौतिक र आर्थिक सहयोग, सचेतना कार्यक्रम लगायतका विभिन्न सामाजिक कार्यक्रममा आफूलाई निरन्तर सहभागि गराउँदै आएको लिस्नुले वार्षिक रुपमा आयोजना गर्दै आएको प्रतिष्ठित लिस्नु कपमा पनि त्यो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिंदै आएको छ ।
यसै क्रममा भदौ २२ गते शनिबारदेखि शुरु प्रतिष्ठित २२औं लिस्नु कपको उद्घाटनको अवसर पारी क्लबले आफ्नो सामाजिक जिम्मेवारीलाई फेरि पनि अगाडी सारेको छ । लिस्नुले उद्घाटन कै अवसर पारी दुई जेहेन्दार विधार्थीलाई साइकल सहयोग गरेको छ ।
लिस्नु कप आयोजना स्थल पशुपति माविका दुई विद्यार्थीहरुलाई क्लबले एक कार्यक्रमका बीच दुई थान साइकल हस्तान्तरण गरेको हो । त्यसो त क्लबले गरेको यो कार्य शुरुवात भने होइन । लिस्नुले यसअघिका संस्करणहरुमा पनि विद्यार्थीहरुलाई सहयोग र प्रोत्साहन गर्दै आइरहेको छ ।
लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराथ मल्ल भन्छन्, “क्लबको जिम्मेवारी खेलकुद मै सिमित राख्ने भन्दा समाजका लागि पनि केही उदाहरणीय काम गर्ने हाम्रो योजना छ । हामी त्यही योजना अनुसार अगाडी बढिरहेका छौं ।”
सोही अवसरमा क्लबका पूर्व अध्यक्ष, संरक्षक तथा तिलोत्तमा नगरपालिका वार्ड नम्बर–१५ का अध्यक्ष समेत रहेका युवा अभियन्ता खेमराज गुरुङ्गले पनि लिस्नुको यो सामाजिक अभियान पहिल्यैदेखि चल्दै आएको सम्झिए । उनी भन्छन्, “क्लबले मेरो कार्यकालमा पनि सामाजिक कार्यलाई जोड दिंदै आएको थियो । यसले निरन्तरता पाइरहेको छ । म क्लबमा प्रत्यक्ष आवद्ध नभए तापनि क्लबले गर्ने सकरात्मक कार्यमा सधै मेरो साथ, सहयोग र समर्थन रहनेछ ।”