News फर्साटिकर र न्यु ईरालाई सफलता
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगितातर्फ शनिबार दावेदार मध्ये एक मानिएको फर्साटिकर युवा क्लब र न्यु ईरा एफसीले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको खेलमा फर्साटिकरले बिएनसी फुटबल क्लबलाई १–० ले हरायो । फर्साटिकरको जितमा कप्तान सुजन रानाले एक मात्र निर्णायक गोल गरे ।

यो जितसँगै फर्साटिकर प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा म्यान अफ द म्याच भने पराजित बिएनसीका सफल थापा मगर घोषित भएका थिए ।

न्यु ईरालाई पेनाल्टीको सहारा

त्यस्तै शनिबार नै भएको अर्को खेलमा न्यु ईरा एफसीले सिमानगर एफसीलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यो जितपछि न्यु ईरा पनि प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबारका दुई खेलहरु

प्रतियोगिता अन्तरगत मंसिर २१ गते आइतबारको पहिलो खेल सौभाग्य युवा क्लब र भैरहवा एफसीबीच हुनेछ भने दोस्रो खेल सत्यवती युवा क्लब र अमुवा एफसीबीच हुने खेल संयोजक आशिष पाडेले बताए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ रानीगञ्जको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले जानकारी दिए ।

त्यस्तै विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ठकुरीले बताए । कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष ४ गतेका दिन हुनेछ ।

 

Post Comments