News बुटवलमा प्रथम प्रचण्ड थैव स्मृति कप शुरु, आयोजकको विजयी शुरुवात
सुरज राना मगर

बुटवल । नेपालमा फुटबलको माहोल विस्तारै तातिंदै गर्दा रुपन्देहीमा पनि फुटबल प्रतियोगिताले फेरि निरन्तरता पाउन थालेको छ । केही दिन अघि मात्र बुटवल–१७ रानीगञ्जमा तेस्रो रानीगञ्ज कप शुरु भइरहेकै अवस्थामा बुटवल–७ मा पनि अर्को फुटबल प्रतियोगिता शुरु भएको छ ।

शनिबारदेखि बुटवलमा प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच स्व. थैवकी माता सुकन्या थैवले गरेकी थिईन् ।

बुटवल–७ सिद्धेश्वरी मैदानमा भएको उद्घाटन खेलमा आयोजक सौभाग्य युवा क्लबले विजयी शुरुवात गर्यो । विजयी शुरुवात गर्ने क्रममा सौभाग्यले पाहुना टोली भ्याली क्लब, पाल्पालाई १–० ले हरायो । सौभाग्यको जितमा आकाश गुरुङले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने आयोजक कै सुर्य थापा घोषित भए ।

प्रतियोगिता अन्तरगत मंसिर २१ गते आइतबारको खेल भैरव एफसी, नवलपरासी र न्यु एकता युवा क्लब, डिङरनगरबीच हुने आयोजकले जनाएको छ ।

सौभाग्य युवा क्लब, बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

रुपन्देही, पाल्पा र नवलपरासीका गरी कुल २० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो पुष ५ गतेका दिन हुने प्रचार प्रसार संयोजक कृष्ण कुमालले जानकारी दिए ।

Post Comments