News जनज्योतिलाई पेनाल्टीको सहारा
सुरज राना मगर

बुटवल । यहाँ जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा जनज्योति क्लब, डिङरनगरले संघर्षपुर्ण जित हात पारेको छ ।

बुटवल–७ स्थित सिद्धेश्वरी खेलमैदानमा भएको खेलमा जनज्योतिले भैरव स्वोर्टस क्लब, नवलपरासीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

आइतबारको खेलमा टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका जनज्योतिका गोलरक्षक श्रृजन श्रेष्ठ म्यान अफ द म्याच चुनिए । यो जितसँगै जनज्योति प्रतियोगिताको प्रिक्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत मंसिर २२ गतेको पहिलो खेल सम्पूर्ण एफसी, सुपौली र भैरहवा–११ बीच हुनेछ भने दोस्रो खेल सरई एफसी, पाल्पा र सयपत्री युवा क्लबबचि हुने आयोजकले जनाएको छ ।

सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुस ५ गतेका दिन हुनेछ ।

 

Post Comments