News अमुवा र सौभाग्य प्रिक्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । अमुवा एफसी र सौभाग्य युवा क्लब आ–आफ्नो खेलमा जित हात पार्दै यहाँ जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको खेलमा अमुवाले सत्यवती युवा क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

अमुवाको जितमा सुरज गुप्ताले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच पनि गुप्ता नै घोषित भए । यो जितसँगै अमुवा प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सौभाग्यद्वारा भैरहवा निराश

त्यस्तै आइतबार नै भएको अर्को खेलमा सौभाग्य युवा क्लबले दश खेलाडीमा सिमित भैरहवा–११ लाई शून्यका विरुद्ध २ गोलले हरायो । सौभाग्यको जितमा बिकास थापा र याम रानाले एक–एक गोल गरे ।

खेलको दोस्रो हाफतर्फ भैरहवाका कप्तान झके गुरुङले लाइन्सम्यानलाई अपशब्द प्रयोग गरेपछि सोझै रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । त्यसपछि अधिकांश दश खेलाडीमा सिमित हुन पुगेको भैरहवा खेलमा फर्कन सकेन ।

खेलमा म्यान अफ द म्याच भने पराजित भैरहवा कै बिशाल ठकुरी घोषित भए । उता यो जितसँगै सौभाग्य पनि प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबारका दुई खेलहरु

प्रतियोगिता अन्तरगत मंसिर २२ गते सोमबार पनि दुई खेलहरु हुनेछन् । पहिलो खेल मैत्री युवा क्लब र आयोजक रानीगञ्ज युवा क्लब (बी) बीच हुनेछ भने दोस्रो खेल उज्यालो एफसी र टिकुलीगढ युवा क्लबबीच हुने खेल संयोजक आशिष पाडेले बताए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ रानीगञ्जको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले जानकारी दिए ।

त्यस्तै विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ठकुरीले बताए । कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष ४ गतेका दिन हुनेछ ।

 

Post Comments