News साविक विजेता फर्साटिकरलाई स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कपको उपाधि
सुरज राना मगर

कोटिहवा । यहाँ सम्पन्न स्व. कमलराज पाठक स्मृति प्रतिष्ठित २२औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकरले जितेको छ ।

बिहीबार भएको फाइनलमा फर्साटिकरले समपुर्ण युवा क्लब, सुपौलीलाई २–१ ले हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो । फर्साटिकरका लागि ५३औं मिनटमा रुपेश केसीले पेनाल्टीबाट पहिलो गोल गरे भने ५६औं मिनटमा केसी कै पासमा मिलन राईले दोस्रो तथा निर्णायक गोल गरे ।

उता पराजित समपुर्णका लागि ७३औं मिनटमा अभिषेक वाइबाले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् ।

विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्दा उपविजेता समपुर्णले १ लाख ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

फर्साटिकरका रुपेश सर्वोत्कृष्ट खेलाडी

विधागततर्फ फर्साटिकरका रुपेश केसी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसवापन उनले नगद २५ हजार हात पारे । उत्कृष्ट गोलरक्षक समपुर्णका प्रदिप भण्डारी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि समपुर्ण कै सिर्जन राज गौतमले हात पारे । उदियमान खेलाडी पनि समपुर्ण कै अभिषेक वाइबा बन्दा सञ्जिवनी युवा क्लब, देवीनगरले फेयर प्ले टिमको पुरस्कार प्राप्त गर्यो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ११–११ हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे । त्यस्तै फेयर प्ले टिम बनेको सञ्जिवनीले आकर्षक ट्रफी प्राप्त गर्यो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, मुख्य प्रायोजक स्व. कमलराज पाठककी श्रीमती तथा सिद्धार्थ ईट्टा उद्योगकी प्रोप्राइटर लक्ष्मी पाठक, छोरा अभिषेक पाठक, छोरीहरु दिपा पाठक, कृति पाठक, आकृति पाठक, आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्ल, तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का अध्यक्ष खेमराज गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार) लगायतले पुरस्कृत गरेका थिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा गत भदौ २२ गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी र स्याङ्जाका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

सोही अवसरमा आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई हार्दिक आभार र धन्यवाद समेत प्रकट गरेका थिए ।

Post Comments