
बेनीबजार । म्याग्दी जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रथम म्याग्दी कप जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि मनसुन युथ क्लबले जितेको छ । फाइनलमा कालिपुल युनाइटेड क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै मुनलाईट च्याम्पियन बनेको हो ।
विजेता बनेको मनसुनले उपाधिसहित नगद ७० हजार हात पार्यो भने उपविजेता कालिपुल युनाइटेडले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । मनसुनका मिलन घिमिरे फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।
अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक मनसुन क्लबका सिजन किशन बन्दा उत्कृष्ट डिफेन्डर मनसुन कै आशिष केसी चुनिए । उत्कृष्ट मिडफिल्डर पनि मनसुन कै सम्राट लिम्बु बन्दा उत्कृष्ट फरवार्ड कालिपुल युनाइटेडका पुरन छन्त्याल बने ।
उत्कृष्ट प्रशिक्षक कालिपुलका अनिष गौचन बन्दा फेयर प्ले टिमको पुरस्कार जेपिसी डर्वाङले हात पार्यो । त्यस्तै उदियमान खेलाडी कालिपुलका सुमन बने । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने कालिपुल युनाइटेड कै रोशन छन्त्याल घोषित भए ।
बेनी नगरपालिका फुटबल संघ, धवलागिरी गाउँपालिका फुटबल संघ, मंगला गाउँपालिका फुटबल संघ तथा मालिका गाउँपालिका फुटबल संघको सह–आयोजनामा हुन गईरहेको प्रतियोगितामा म्याग्दीका कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।