News फार्मा टिमद्वारा प्रशिक्षकद्वय यम गुरुङ र दिलिप क्षेत्री सम्मानित
सुरज राना मगर

बुटवल । स्वास्थ्य पेशामा आवद्ध रहेकाहरु बीच आपसी भाईचारा, सदभाव कायम गर्ने उद्देश्यका साथ दशैंको अवसर पारी वार्षिक रुपमा आयोजना हुँदै आएको फार्मा फुटसल कपमा रुपन्देहीका दुई प्रशिक्षकद्वय यम प्रसाद गुरुङ र दिलिप क्षेत्री सम्मानित भएका छन् ।

प्रतियोगिताको आयोजक दि फार्मा टिम, बुटवलले चौथो फार्मा कपको अवसर पारी प्रशिक्षकद्वय गुरुङ र क्षेत्रीलाई सम्मानित गरेको हो । फुटबलमा लामो समयदेखि निरन्तर जोडिएर स्थानीयदेखि राष्ट्रियस्तरमा रुपन्देहीको फुटबललाई उकास्न अहम भूमिका खेलेको भन्दै फार्मा टिमले प्रशिक्षकद्वय यम गुरुङ र दिलिप क्षेत्रीलाई दोसल्ला ओढाई मायाको चिनोसहित सम्मान गरेको हो ।

फार्मा कपको संयोजक समेत रहेका मदन घिमिरेले प्रशिक्षकहरु यम गुरुङ र दिलिप क्षेत्रीले फुटबलमा पुर्याएको योगदानको उच्च मुल्यांकन गरेर उहाँहरुलाई सम्मान गरिएको बताए । रुपन्देहीसँगै नेपाली फुटबलमा यी दुई हस्तीको योगदान सधै प्रशंसनीय रहेको संयोजक घिमिरेले बताए ।

त्यसो त यम गुरुङ नेपाली फुटबलका लागि परिचित नाम भईसकेको छ । जिल्लादेखि राष्ट्रियस्तरमा आफ्नो प्रशिक्षकीय खुबी देखाईसकेका उनले आफूलाई सफल प्रशिक्षकका रुपमा पनि उभ्याएका छन् । त्यति मात्र नभएर प्रशिक्षक यम रुपन्देहीका एक्ला एएफसी ए लाईसेन्स प्रशिक्षक समेत हुन् ।

त्यस्तै जिल्लादेखि राष्ट्रियस्तरमा खेलाडीका रुपमा आफ्नो बलियो परिचय बनाएका दिलिप क्षेत्री कुनै समयका पुराना र चर्चित खेलाडी समेत हुन् । गोलरक्षकको भूमिकामा राष्ट्रियस्तरको प्रतियोगितामा आफूलाई लामो समय मैदानमा उभ्याएका क्षेत्रीले करियरमा थुप्रै सफलता र उपलब्धी पनि हासिल गरेका छन् । हाल उनी एन्फा एकेडेमी बुटवल कै प्रशिक्षकका रुपमा समेत फुटबल मै सक्रिय छन् ।

सम्मानित भएका प्रशिक्षकद्वय यम गुरुङ र दिलिप क्षेत्री दुवैले गृहजिल्लामा पाएको सम्मान सधै विशेष हुने प्रतिक्रिया दिए । फुटबलमा सारा जिवन सुम्पिएको आफूहरुका लागि फुटबल नै सबथोक रहेको बताउँदै आउने दिनहरुमा पनि फुटबल कै लागि समर्पित रहने बताए ।

Post Comments